काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्। दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यक्रम पूरा गर्न कठिन हुने भन्दै यी स्थानीय तहहरूले आइतबारसमेत नियमित पठनपाठन जारी राख्ने जानकारी दिएका हुन्।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँका अनुसार पालिकाभित्रका २९ वटै सामुदायिक विद्यालय वैशाख १५ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउनेछन्। सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले वैशाख ८ गतेदेखि सबै विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको बताए।
त्यस्तै, कनकासुन्दरी गाउँपालिकामा वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु भइसकेको गाउँपालिकाकी उपाध्यक्ष प्रेमकली बुढाले जानकारी दिइन्। संघीय सरकारले शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि यी तीन स्थानीय तहले आफ्नै शैक्षिक क्यालेन्डरअनुसार अघि बढेका छन्।

