सिन्धुपाल्चाेक। सिन्धुपाल्चाेककाे मेलम्ची-९ मा रहेकाे ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको शनिबार प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख तामाङले सहकारीले स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुर्याइरहेको बताउँदै सबै अनुशासनमा रहे मात्र सफल हुने बताउनुभयो।
वडा अध्यक्ष किरणदीप खड्काले सहकारीलाई थप व्यवस्थित गर्दै अघि बढ्ने बताउँदै सबैले सिद्धान्तलाई पालना गर्नुपर्ने बताउनुभयो। आफ्नै भवन रहेको सहकारीले यसलाई तरकारी संकलन केन्द्रसहित एकीकृत कृषि केन्द्रको रुपमा संचालनका लागि थप सहयोगका लागि सहकारीका सचिव धर्मराज खडकाले आग्रह गर्नुभयो ।
मेलम्ची ९ र १० कार्यक्षेत्र रहेको सहकारीका ९८० सदस्य रहेका छन् । सहकारीमार्फत ९६० पशुको बीमा गरिएको प्रबन्धक ललिता बस्नेत खड्काले जानकारी दिनुभयो । अघिल्लो आर्थिक बर्षदेखि हालसम्म २ करोड २२ लाख ९३ हजार २८४ ऋण लगानी गरिएको संस्थाले जनाएको छ । चालु आर्थिक बर्षमा २३ हजार ९०० शेयर रकम वृद्धि भएको बताइएको छ । त्यस्तै १० लाख १२ हजार ५८९ रुपैयाँ ९८ पैसा रुपैयाँ बचत संकलन भएको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका अध्यक्ष भेषबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रमको संचालन पाण्डव अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा नवराज घोरासैनी, मन्जु गौतम , रुद्र केसी, भिमसेन खतिवडा , राम घोरासैनी लगायत कलाकारहरुले प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

November 22, 2025, Jyotishsanchar press

