बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ८ मा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सदस्यलाई सम्मान गरेको छ ।
बनेपाको स्मार्ट पार्टी प्यालेसमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच सहकारीले संस्थाका १९७ जना जेष्ठ सदस्यलाई सम्मान गरेको हो । शनिबार बनेपामा शुरु भएको सम्मान कार्यक्रम विभिन्न सेवाकेन्द्रमा समेत गरि १९७ जना सदस्यलाई सम्मान गरिने लक्ष्यका साथ अघि बढेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवास वैद्यले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, विशेष अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यलगायतले संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी बादेले जन्म दिने आमाबुबालाई खुशी राख्न सके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताउनुभयो । उहाँले सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता दिनेदेखि अन्य सुविधाहरु दिइरहेको अवस्थाका बीच आवाष सहकारीले आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै उहाँहरुको स्वास्थ्यमा हामीले विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बनेपाका प्रमुख शान्तिरत्न शाक्यले कार्यक्रमको सफलताको शुभकामना दिँदै कुनै समस्या परेमा नगरपालिकामा सम्पर्क गर्न अनुरोध गर्नुभयो । बनेपाकी उपप्रमुख विमला सापकोटा दाहालले नगरपालिकाले जेष्ठ नागरिक, महिला तथा बालबालिकाका क्षेत्रमा गरिरहेका कामहरुको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुरकृष्ण वैद्यले संस्थाले गर्दै आइरहेको सामाजिक उत्तरदायित्वका कामहरुको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता कामहरुलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष ग्रोबिन तौजलेले कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै ०५१ सालमा तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता वितरणको शुरुवात गरेको उल्लेख गर्दै अहिले थप सुविधाका साथ सरकारले जेष्ठ नागरिक लक्षित कार्यक्रम संचालन गरिरहेकोप्रति खुशी व्यक्त गर्नुभयो ।

November 29, 2025, Jyotishsanchar press

