
April 7, 2025, Jyotishsanchar press
नेपाली कांग्रेसले आन्दोलनरत नेपाल शिक्षक महासंघसँग वार्ता गरेर समस्याको समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ।
नेपाली कांग्रेस शिक्षा विभागले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई समस्या समाधानका लागि आग्रह गरेको हो।
बिगतमा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनका लागि शीघ्र विद्यालय शिक्षा ऐन पारित गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन्। आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघले आजदेखि शैक्षिक आमहडतालसमेत घोषणा गरेको छ।
‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसँग यस अघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ’ कांग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ।

