रवि कारागार चलानपछि रास्वपाले बोलायो सचिवालय बैठक
Raswapa Close Camp 3 Fzsox1q6uo

April 8, 2025, Jyotishsanchar press

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि रास्वपाले पार्टीको दिशा तय गर्न बैठक बोलाएको हो।

बैठक चैत २७ गते दिनको ४ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकका मुख्य विषयवस्तु अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम रहेको उनले बताए।

यस्तै पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूका सम्बन्धमा पनि नयाँ निर्णय लिन सकिने रास्वपा नेताहरूले बताएका छन्।

गत शुक्रबार रूपन्देही जिल्ला अदालतले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै बूढानीलकण्ठस्थित निवासबाट प्रहरी पक्राउ गरेको थियो। उनलाई सोमबार मात्र भैरहवा कारागार पठाइएको छ।

यसअघि रवि बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका थिए।

उच्च अदालतले धरौटीमा रिहा गर्न नमिल्ने र थुनामै बस्नुपर्ने आदेश गरेपछि रास्वपामा नेतृत्व र आगामी कार्यक्रमबारे अन्योल उत्पन्न भएको छ।

शनिबार चितवनमा गरिएको जनयात्रा कार्यक्रमको सुरूवात पनि उत्साहजनक हुन सकेको थिएन।

नेतृत्वपंक्तिमै अन्योलका कारण आउँदो वैशाखमा गर्ने भनिएको अधिवेशन पनि अनिश्चयमा धकेलिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको