
April 12, 2025, Jyotishsanchar press
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पछिल्लो समय आफूविरुद्ध ’१७ हजारको हत्यारा’ भन्ने आरोप व्यापक रुपमा फैलाइँदा पार्टी र बुद्धिजीवी वृत्तबाट प्रतिवाद नआएकोप्रति गुनासो गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले कहिल्यै एक जनालाई पनि नपिटेको दाबी गर्दै युद्धका घटना युद्धको नियमअनुसार भएको बताए ।
“युद्धको नेतृत्व मैले गरेँ, शान्तिपछि सबै जिम्मेवारी लिन्छु भनेकै छु। तर, गलत आरोप लागिरहँदा खण्डन गर्ने कोही देखिन्न,“ उनले भने ।
प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनमा सबैभन्दा बढी जोखिम माओवादी केन्द्रले नै उठाएको स्मरण गराउँदै आफूहरू उल्टै ’हत्यारा’ को आरोपमा पर्ने अवस्था बनाइएको गुनासो गरे ।
उनले माओवादीलाई जस दिन नचाहने वर्ग समाजमा रहेको उल्लेख गर्दै बुद्धिजीवीहरूलाई यस विषयमा गम्भीर विचार गर्न अपिल गरेका छन् ।

