
April 12, 2025, Jyotishsanchar press
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एक प्लास्टिक कारखानामा शनिबार दिउँसो भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी नियन्त्रणका लागि उपत्यकाभरिका दमकलहरू घटनास्थलतर्फ खटिएका छन् ।
हालसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १० वटा दमकल आगलागी नियन्त्रणका लागि परिचालन गरिएको भए पनि केही दमकल अझै घटनास्थलमा नपुगेको प्रहरीले जनाएको छ ।
आगलागीको तीव्रता र कारखानामा रहेका प्लास्टिकजन्य पदार्थका कारण आगो फैलिन सक्ने जोखिम रहेकाले वरपरका बस्तीहरू पनि प्रभावित हुने सम्भावना देखिएको छ ।
प्रहरी प्रशासनले स्थानीयवासीलाई सजग रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । आगोको कारण र क्षतिको विवरण हालसम्म प्राप्त नभइसकेको प्रहरीले जनाएको छ ।

