अख्तियार प्रमुखको खुलासा : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले चाहेन
Prem Kumar Rai Prem Rai Pokr3nbl49

May 7, 2025, Jyotishsanchar press

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गरेका छन्।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पती नेपाल ल्याउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको खुलासा गरे।

उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पती फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गरे।

यस सम्बनधमा काम गर्न सरकारले कार्यदल गठन गरे पनि द्रुत गतिमा काम नगरेको प्रमुख राईको गुनासो छ।

अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गर्दै आफूले कार्यकाल सम्हालेपछि कुनैपनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनि दबाब नआएको बताए।

भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गर्दै राईले सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा कायापलट गरेको समेत बताए।

भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको समेत प्रमुख आयुक्त राईले बताए।

‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि केही कुरामा विमति होला। कसैको केही प्रभाव परेको पनि होला। तर कुनैपनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन। सुशासन कायम गर्नुपर्छ भनिरहेकै अवस्था हो,’ राईले भने, ‘ठूला माछाहरूलाई लगेन भन्ने कुरा ५/१० वर्षदेखि चलिनै राखेको छ। तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के? हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौं जस्तो लाग्छ।’

उनले थपे, ‘सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा त कायापलट नै गरिदियौँ। उपल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न हो। बलिको बोको त कर्मचारी मात्रै भयो नि। उपल्लो तहको मान्छेको लागि त बयान लिएको कर्मचारीले प्रमाणसहित भन्नुपर्‍यो नि। तर उहाँहरू कोही नामसम्म लिन चाहनुहन्न। हामीले अहिलेपनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन। यसमा तपाईहरूले सहयोग गर्नुपर्यो,’ प्रमुख आयुक्त राईले खुलासा गरे, ‘संगापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन। कार्यदल बनाएपनि काम भइरहेको छैन।’

प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सिमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको समेत बताए। भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको संख्या उल्लेख्य मात्रामा रहेको राईको दाबी छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको