
May 8, 2025, Jyotishsanchar press
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य सयमा बोल्दै उनले पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले ४९ लाख पुर्याइएको भन्दै त्यसमा बिचौलीयाले चलखेल गरेको हुनसक्ने आशंका समेत व्यक्त गरे।
‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो,’ झाले भने, ‘तर, जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्दैैछौँ। लक्ष्मणकुटीको नाममा रहेको १७ विगाह जमीन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो। खेलकुद परिषद्ले गुठीसंस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो।’
उनले थपे, ‘तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासी ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो। यसमा पक्कै पनि समृद्ध बिचौलीया, समृद्ध दलाल छिरेजस्तो छ। अब यदि जनकुपरको त्यो क्रिकेट रंगशालको परिकल्पना, खेलाडीहरुको सपनामा व्यवधान भयो भने आन्दोलन चाँडै हुनेछ।’

