कुन्तावेँसी । काभ्रेपलाञ्चोक जिल्लाकाे मण्डनदेउपुर नगरपालिका वडानम्बर ९ जिताउरी पोखरीमा नव प्रतिभा इङ्लिस बोडिङ स्कुल कुन्तावेँसीको विद्यार्थी बोक्ने भ्यान बुधबार बिहान दुर्घटना भएकाे छ ।
बा १ ज ८६७२ नम्बरको भ्यान ब्रेक फेल भई सडकबाट अन्दाजी ६ मिटर दायाँतर्फ घरमा ठक्कर खाई दुर्घटना हुँदा चालक मण्डनदेउपुर नगरपालिका ७ बस्ने वर्ष २४ की दिपिका ढकाल घाइते भएकी छिन् । अरु पाँच जना विद्यार्थीलाई भने सकुशल उद्धार गरिएकाे छ।
दुर्घटनाकाे खबर पाउनासाथ प्रहरीचौकी हिँगुवापाटीबाट गएकाे प्रहरी टोली घटनास्थल पुगेकाे थियाे । साथै घाइते चालक घरमा च्यापिएकाे हुँदा झिक्न नसकिएपछि प्रहरीचौकी पाँचखालबाट प्रहरी निरिक्षक प्रशान्त तामाङकाे कमाण्डमा ५ जना र १५ नम्बर गण हेडक्वाटर पाँचखालबाट सशस्त्र प्रहरी सहायक निरिक्षक भरत न्यौपानेको कमाण्डमा ७ जनाको टोली घटनास्थल गई जेसिबीकाे सहायताले घाइतेकाे उद्धार गरेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
घाइते चालक ढकाललाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको र उनकाे अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएकाे छ ।

January 28, 2026, Jyotishsanchar press

