धुलिखेल । काभ्रेको सदरमुकामसमेत रहेको धुलिखेल नगरपालिकाले मंगलबार आफ्नो ४० औं स्थापना दिवस मनाएको छ । नगरका कार्यबाहक मेयर निराजन जंगमको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम पञ्चकन्याहरुद्वारा उद्घाटन गरिएको थियो ।
कार्यक्रममा उपस्थितहरुलाई वडानम्बर ३ का वडाध्यक्ष गणेश आचार्यले स्वागत गर्दै धुलिखेल नगर स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरुलाई स्मरण गर्नुभयो । उहाँले निर्वाचनको आचारसंहिता लगायतका कारण कार्यक्रमलाई बृहत बनाउन नसकिएको भन्दै आगामी दिनमा यसलाई निरन्तारता दिँदै थप बृहत बनाइने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनीले धुलिखेलका कामहरुको बारेमा जानकारी दिँदै सिमित स्रोत साधनका बाबजुद नगरमा उल्लेख्य विकास गर्न सकिएको र यो पर्याप्त अझै नभएकाले आगामी दिनमा सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा सफा सुन्दर हरित धुलिखेल हाम्रो लक्ष्य शिर्षकको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो । साथै विभिन्न कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका कार्यबाहक मेयर जंगमले धुलिखेलमा भएका कामहरुले गर्दा नै देशका सबै पालिकाभन्दा फरक बनाउन सकिएको भन्दै आगामी दिनमा पनि सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले पालिकाको प्रयासले मात्र नभइ सबैको सहयोगले समृद्ध धुलिखेलको सपना साकार हुने उल्लेख गर्नुभयो ।

February 17, 2026, Jyotishsanchar press

