काठमाडौँ । रङ, उमंग र आपसी सद्भावको सन्देश बोकेको होली अर्थात् फागु पर्व आज (सोमबार) देशका पहाडी तथा हिमाली जिल्लाहरूमा धुमधामका साथ मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै मनाइने यस पर्वले नेपाली समाजमा मेलमिलाप, सहिष्णुता र एकताको भावना सुदृढ बनाउने विश्वास गरिन्छ । तराईका जिल्लाहरूमा भने परम्पराअनुसार भोलि (मंगलबार) होली मनाइनेछ । हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिने फागु पर्व शक्तिको दुरुपयोग गर्ने दुष्ट प्रवृत्तिमाथि सत्य र भक्ति विजयी भएको स्मरणमा मनाइन्छ ।
त्रेता युगमा दानवराज हिरण्यकश्यपुले आफ्ना छोरा भक्त प्रहृलादलाई मार्न बहिनी होलिकासहित आगोमा पठाएको किंवदन्ती यस पर्वसँग जोडिएको छ । भगवान् विष्णुको कृपाले प्रहृलादलाई आगोले केही नगरे पनि अग्निबाट नजल्ने वरदान पाएकी होलिका भने जलेर नष्ट भएको धार्मिक विश्वास छ । यही घटनाको प्रतीकस्वरूप पूर्णिमाको रात चीर दहन गरिन्छ ।
फागुमा प्रयोग गरिने रङहरूको पनि आ-आफ्नै सांस्कृतिक अर्थ छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय मानिन्छ । रातो रङ शक्ति र सौभाग्यको सूचकका रूपमा लिइन्छ भने भगवान् गणेशलाई सबै रङ प्रिय रहेको धार्मिक विश्वास छ । रङको टीका लगाउँदै, पानी छ्याप्दै र शुभकामना आदानप्रदान गर्दै मनाइने यो पर्वले समाजमा आपसी सद्भाव र एकता प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

March 2, 2026, Jyotishsanchar press

