
संखुवासभा।अत्यधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
संखुवासभा मकालु गाउँपालिका–१की २८ वर्षीया सरु राईको बुधबार सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएको थियो। अवस्था गम्भीर बन्दै गएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार उनलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो।
सरुले आज बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत शिशुको जन्म दिएकी थिइन्। त्यसपछि अत्यधिक रक्तस्राव भई स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल उद्धार गरिएको हो।
जिल्ला अस्पतालका प्रमुख सन्तोष देवका अनुसार उनलाई थप उपचारका लागि काठमाडाैंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै संखुवासभाबाट एक दर्जन सुत्केरी तथा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार भइसकेको छ।

