आज मुस्लिम समुदायले ईद उल फित्र पर्व मनाउँदैछन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउँदैछन् । यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।
आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । शनिबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ । यसैगरी घण्टाघरमै रहेको काश्मिर मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ।

March 21, 2026, Jyotishsanchar press

