काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली लाई भेट गरेका छन्। पत्थरीको शल्यक्रियापछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचाररत् ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ करिब सवा ५ बजे अस्पताल पुगेका थिए।
दुई नेताबीच करिब ४० मिनेट संवाद भएको नेकपा स्रोतले जनाएको छ। पछिल्लो समय एमाले–नेकपा एकीकरणको चर्चा चलिरहेका बेला शीर्ष नेतृत्वबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि अस्पतालले ओलीलाई आइसीयुबाट सामान्य वार्डमा सारेको थियो। स्वास्थ्यलाभको कामना गर्न पुगेका प्रचण्ड र ओलीबीच स्वास्थ्य अवस्थासँगै समसामयिक राजनीतिक विषयमा पनि गहन छलफल भएको बताइएको छ।

