प्रत्येक वर्ष मनाइँदै आएको बिस्केट जात्रा आजबाट सम्पन्न हुँदैछ। चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुनेछ
जात्राको अन्तिम दिन दिउँसो ४ बजे गहिटीबाट भैरवको राज तानेर जात्रा सम्पन्न हुने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्मचारीले जानकारी दिनुभयो यो वर्ष जात्रामा कुनै पनि अप्रिय घटनाहरू नघटी शान्तिरूपमा सञ्चालन भएको समेत प्रमुख कर्माचार्यले जानकारी गराउनुभयो।
बिस्केट जात्राको आज अन्तिम दिन कुनै पनि अप्रिय घटना हुन नदिन भक्तपुरमा आज सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी गेपालप्रसाद अर्यालले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको जानकारी गराउनुभयो।
जात्रामा सिसी क्यामराबाट प्रहरीले अनुगमन गरिरहेको हुन्छ । जात्रामा खटिएका सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट तस्बिर र श्रव्य दृश्यबाट अनुगमन गरिरहेको हुन्छ । स्थानीयको जात्रा भएकाले जात्रामा अवरोध नगर्ने गरी सुरक्षाकर्मी पछाडि बस्छ, हुलदङ्गा भयो भने र आवश्यकता हेरेर मात्रै सुरक्षाकर्मी अगाडि जाने व्यवस्था गरेका छौँ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले सुरक्षाका लागि जात्रामा आज दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गर्दै झडप भए मात्रै प्रहरी जात्रा स्थल पुग्ने बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली खटाइएको जानकारी दिँदै उनले जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हूलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए । जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत ल्याएको बताउँदै सादा पोसाकमा सुरक्षाकर्मी जात्राका लागि खटिएको उनले उल्लेख गरे ।

