५१ वर्षीया फूर दिकी शेर्पा ल्होत्से छिटो आरोहणको कीर्तिमानतर्फ

काठमाडौँ । आरोही फूर दिकी शेर्पाले सन् २०२६ को वसन्त ऋतुमा विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) सबैभन्दा छोटो समयमा आरोहण गर्ने लक्ष्य लिएकी छन्। सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो एकल (विधवा) महिलामध्ये एक शेर्पाले बेस क्याम्पबाट शिखरसम्म पुगेर पुनः फर्किने गरी २४ घण्टाभित्र आरोहण सम्पन्न गर्ने योजना सार्वजनिक गरेकी हुन्।

काठमाडौंको महाकालस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो अभियानबारे जानकारी दिएकी थिइन्। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको अभियान सफलताको कामना गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु (डेभिड) शेर्पाले नेपाल सम्भावनाले भरिएको देश भएको उल्लेख गर्दै यस्ता अभियानले देशको पहिचान विश्वस्तरमा अझ मजबुत बनाउने बताए। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले शेर्पा समुदायले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले पनि शेर्पाको सफलताको कामना गर्दै एकल महिलाको सशक्तीकरणका लागि स्थानीय तहले सहयोग गर्ने बताए। वरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाले समेत उनको अभियानलाई समर्थन जनाए।

५१ वर्षीया फूर दिकी शेर्पाले यो आरोहण आफ्ना स्वर्गीय बुबा आङ ङिमा शेर्पा र मित्र इमान सिंह गुरुङको सम्झनामा समर्पित गरेकी छन्। उनका अनुसार बुबाको अधुरो ल्होत्से आरोहणको सपना पूरा गर्ने उद्देश्यले आफू यो अभियानमा जुटेकी हुन्। उनले शिखरसम्म उनीहरूको तस्बिर लैजाने योजना पनि सुनाइन्।

शेर्पाले आफ्नो अभियानमार्फत महिलाहरूलाई कठिन परिस्थितिमा पनि लक्ष्य प्राप्त गर्न प्रेरित गर्ने उद्देश्य राखेकी छन्। उनले आगामी अप्रिल २२ मा काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्ने जानकारी दिएकी छन्।

सोलुखुम्बुको डिंगबोचे निवासी शेर्पाले यसअघि सगरमाथा, अमादब्लम, हिमलुङ हिमाल, आइल्याण्ड पिक, लोबुचे पिक, मेरा पिकलगायत विभिन्न हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छन्। उनले हिमलुङ हिमाल र पाल्दोर पिकमा महिला टोलीको नेतृत्वसमेत गरिसकेकी छन्।

प्रशिक्षणका रूपमा उनले खुम्बु क्लाइम्बिङ सेन्टर र नेपाल पर्वतारोहण संघबाट विभिन्न उन्नत तालिम प्राप्त गरेकी छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको