काठमाडौँ । गगन थापाले सर्वोच्च अदालतको निर्णयले नेपाली कांग्रेस भित्र एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको बताएका छन्।
फैसलापछि आज बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले यो विषय जित–हारको नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्याससँग सम्बन्धित रहेको स्पष्ट पारे। उनले पार्टीका सबै सदस्य र शुभेच्छुकलाई आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आह्वान गरेका छन्।
थापाले पार्टी सभापतिको हैसियतले सबैभन्दा ठूलो जिम्मेवारी आफूमा रहेको स्वीकार गर्दै त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै त्यसलाई सफल बनाउँदै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
उनले अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिने पार्टी बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।

