काठमाडौँ । नेपालमा रोजगारीको सीमित अवसरका कारण वैदेशिक रोजगारीतर्फको निर्भरता तीव्र रूपमा बढिरहेको अर्थ मन्त्रालयको प्रतिवेदनले देखाएको छ।
नेपाल जीवनस्तर सर्वेक्षणअनुसार बेरोजगारी दर १२.६ प्रतिशत छ भने पछिल्लो दशकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने दर औसत २८.६ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८१/८२ मा ८ लाखभन्दा बढी श्रमिक विदेशिएका छन्। चालु वर्ष पनि यो संख्या निरन्तर उच्च देखिएको छ।
यद्यपि रेमिट्यान्सले अर्थतन्त्रलाई छोटो अवधिमा सन्तुलनमा राखेको छ, तर देशभित्र दक्ष जनशक्तिको कमी, उत्पादनशीलता घट्ने जोखिम र आधुनिक प्रविधिमूलक क्षेत्रको कमजोर विकासले दीर्घकालीन चुनौती थपिएको प्रतिवेदनले उल्लेख गरेको छ।
सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता र नवप्रवर्तनमुखी सेवाक्षेत्र विस्तार गरी देशमै मर्यादित रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएको छ।

