चीन भ्रमणबारे रास्वपा महामन्त्री आचार्यद्वारा सभापति लामिछानेलाई ब्रिफिङ

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिनकुमार आचार्यले पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे जानकारी गराउनुभएको छ।

नोभेम्बर १५ देखि २६ सम्म चीनका सिचुवान, चच्याङ र बेइजिङलगायतका क्षेत्रको भ्रमण गरेको आचार्य नेतृत्वको २० सदस्यीय टोली बुधबार नेपाल फर्किएको थियो।

सभापति लामिछानेसँगको भेटमा महामन्त्री आचार्यले चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्ताबारे जानकारी गराउनुभएको थियो। भेटका क्रममा दुई पार्टीबीचको सम्बन्ध विस्तार, राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो।

त्यसैगरी, भ्रमणका क्रममा विभिन्न उद्योग तथा व्यवसायको अवलोकन, विपद्पूर्व तयारी र विपद्पछिको व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान तथा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे भएका छलफलका विषयमा समेत जानकारी गराउनुभएको थियो।

भ्रमणका क्रममा भएका उच्चस्तरीय राजनीतिक संवाद तथा सिकाइलाई पार्टीभित्र र देशको विकासमा उपयोग हुने गरी कार्यान्वयन गर्न सभापति लामिछानेले भ्रमण टोलीलाई निर्देशन दिनुभएको जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको