नाइजरमा सुरक्षा गार्डको शिविरमाथि सशस्त्र समूहको आक्रमण, १३ सैनिकको मृत्यु

काठमाडाैं । पश्चिमी नाइजरको सानाम क्षेत्रमा राष्ट्रिय सुरक्षा गार्डको शिविरमाथि सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा १३ सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

नाइजरको रक्षा मन्त्रालयका अनुसार बिहीबार बिहान भएको आक्रमणमा भारी हतियारसहित आएका ठूलो संख्याका आक्रमणकारी सहभागी थिए। मन्त्रालयले सरकारी टेलिभिजनमार्फत जारी गरेको वक्तव्यमा घटनालाई ‘आतंकवादी आक्रमण’ भनेको छ।

मन्त्रालयका अनुसार सुरक्षाकर्मीले गरेको जवाफी कारबाहीमा केही आक्रमणकारी मारिएका छन्। साथै, उनीहरूका सैन्य तथा आश्रयस्थल संरचनासमेत नष्ट गरिएको जनाइएको छ। आक्रमणकारीको खोजी तथा पक्राउका लागि सुरक्षा कारबाही जारी रहेको छ।

स्थानीय सञ्चारमाध्यम र सुरक्षा स्रोतका अनुसार आक्रमण स्थानीय समयअनुसार बिहान करिब ५ बजे भएको थियो। मालीको सीमासँग जोडिएको तिलाबेरी क्षेत्रमा पर्ने उक्त स्थानमा सशस्त्र समूहहरूले सुरक्षा बलमाथि नियमित आक्रमण गर्दै आएका छन्। यद्यपि, पछिल्लो आक्रमणको जिम्मेवारी कसले लिएको हो भन्ने खुलेको छैन।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको