काठमाडौँ । बैंकिङ प्रणालीमा लगानीयोग्य अधिक पुँजी (तरलता) थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले दैनिक रूपमा रकम प्रशोचन गरिरहेको छ । यसैक्रममा केन्द्रीय बैंकले बिहीबार मात्र १ खर्ब २० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ । मौद्रिक व्यवस्थापन अन्तर्गत ९७ दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम प्रशोचन गरिएको हो । यसअघि बुधबार (वैशाख १६) पनि ४० अर्ब रुपैयाँ संकलन गरिएको थियो ।
अधिक तरलता कायम रहेकाले पुनः बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलन गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको ब्याजदरका आधारमा बिहीबार दिउँसो ३ बजे सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राख्दै रकम बाँडफाँट गरिनेछ ।
उक्त निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ भने साँवा र ब्याज आगामी साउन २० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । सूचनाअनुसार न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा पाँच करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।

