काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सँग पूर्वबजेट छलफल गर्ने भएका छन्। उक्त बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय गरिएको छ।
छलफलमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका प्राथमिकतामाथि विचार–विमर्श हुनेछ। साथै, सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा आवश्यक योजना तथा बजेटबारे मन्त्रीहरूलाई जानकारी गराउने तयारी गरेका छन्।
सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ। त्यसअघि मन्त्री र सांसदबीच समन्वय तथा सुझाव संकलनका लागि यो छलफल आयोजना गरिएको हो।

