काठमाडौँ । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलको विवादास्पद मार्सल ल प्रकरणसँग सम्बन्धित मुद्दामा पूर्वप्रधानमन्त्री हान डक–सूमाथि सुनाइएको जेल सजाय उच्च अदालतले घटाएको छ । अदालतले विद्रोहमा संलग्न भएको आरोप भने कायम राख्दै उनको कैद सजाय २३ वर्षबाट घटाएर १५ वर्ष कायम गरेको हो ।
सियोल उच्च अदालतले हानले तत्कालीन राष्ट्रपति युनका अवैध कदमलाई वैधानिकता दिन सक्रिय भूमिका खेलेको निष्कर्ष निकालेको छ । अदालतका अनुसार मन्त्रिपरिषद् बैठकमार्फत मार्सल ल अनुमोदन गराउने प्रयास तथा प्रमुख सञ्चार संस्थाको पानी र बिजुली काट्ने योजनामा छलफल गर्नु असंवैधानिक कदमलाई संस्थागत बनाउने प्रयास थियो ।
अदालतले हानमाथि लगाइएका झुटा कागजात तयार गरेको, प्रमाण नष्ट गरेको तथा अदालतमा शपथपूर्वक झूट बोलेको आरोप पनि पुष्टि गरेको छ । अदालतले संवैधानिक जिम्मेवारी पूरा गर्नुको सट्टा विद्रोहमा संलग्न हुनु गम्भीर अपराध भएको टिप्पणी गरेको छ ।
यसअघि जनवरीमा जिल्ला अदालतले हानलाई २३ वर्ष जेल सजाय सुनाएको थियो । त्यसको एक महिनापछि पूर्वराष्ट्रपति युन सुक योललाई पनि विद्रोहको आरोपमा आजीवन कारावास सुनाइएको थियो ।
कानूनी विश्लेषकहरूका अनुसार उच्च अदालतले सजाय घटाए पनि हानको भूमिका गम्भीर रहेको निष्कर्षलाई यथावत् राखेको छ । अब हान र सरकारी अभियोजन पक्षलाई सर्वोच्च अदालतमा पुनरावेदन गर्न सात दिनको समय दिइएको छ ।

