काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुस्थित ट्रान्स–सुमात्रा राजमार्गमा यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास क्षेत्रमा बुधबार दिउँसो भएको दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्ण रूपमा जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन् । बस लुबुक्लिङ्गाउबाट जाम्बीतर्फ जाँदै थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार बसमा ठक्करअघि प्राविधिक समस्या देखिएको थियो । सम्भावित दुर्घटना टार्न चालकले बसलाई सडकको दायाँतर्फ मोड्ने प्रयास गर्दा विपरीत दिशाबाट आएको तेल ट्याङ्करसँग ठोक्किएको जनाइएको छ ।
ठक्करलगत्तै दुवै सवारीमा आगो फैलिएको थियो । आगलागीका कारण धेरै यात्रु बाहिर निस्किन नपाउँदै सवारीभित्रै फसेका थिए ।
दुर्घटनामा बस चालकसहित १३ यात्रु तथा ट्याङ्करका चालक र सहचालकको मृत्यु भएको छ । अधिकांश शव जलेको अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।

