काठमाडाैं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोला प्रकोप देखिएपछि भारत र अफ्रिकी सङ्घले आगामी हप्ता नयाँ दिल्लीमा हुने तय भएको चौथो भारत–अफ्रिका शिखर सम्मेलन स्थगित गरेका छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार अफ्रिका क्षेत्रमा इबोला सङ्क्रमण फैलिँदो अवस्थामा रहेकाले दुवै पक्षले सम्मेलन स्थगित गर्ने निर्णयमा सहमति जनाएका हुन्। सम्मेलन मे २८ देखि ३१ सम्म नयाँ दिल्लीमा आयोजना हुने तय भएको थियो।
विश्व स्वास्थ्य सङ्गठनले इबोला जोखिम मध्य अफ्रिकामा उच्च भए पनि विश्वव्यापी रूपमा कम रहेको जनाएको छ। कङ्गोमा हालसम्म करिब ६०० जना सङ्क्रमित र १३९ जनाको मृत्यु भएको आशङ्का गरिएको छ।
भारतले अफ्रिकी स्वास्थ्य निकायसँग सहकार्य गर्दै प्रकोप नियन्त्रण प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ। यसैबीच, नयाँ दिल्ली विमानस्थलले कङ्गो, युगान्डा र दक्षिण सुडानबाट आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्शसम्बन्धी सूचना जारी गरेको छ।
सम्मेलनको नयाँ मिति पछि तय गरिने जनाइएको छ।

