काठमाडाैं । बुद्ध एयरले चितवनको भरतपुर र कास्कीको पोखराबीच सञ्चालन हुँदै आएको उडान सेवा बन्द गरेको छ ।
बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार विगत एक महिनादेखि भरतपुर–पोखरा उडान रोकिएको हो । यात्रुको संख्या अत्यन्त न्यून हुनु, हवाई भाडा बढ्नु तथा पोखरा–मुग्लिन सडकखण्ड सहज बनेपछि अधिकांश यात्रु सडकमार्गतर्फ आकर्षित भएकाले उडान सेवा स्थगित गरिएको उनले बताए ।
बस्नेतका अनुसार समूहगत पर्यटकको माग आएमा भने आवश्यकताअनुसार उडान गर्न सकिनेछ । “केही समयसम्म नियमित उडान सञ्चालन गरियो, तर सधैं खाली जहाज उडाउन सम्भव भएन,” उनले भने, “भरतपुर र पोखरा दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरेर सेवा सञ्चालन गरिएको थियो, तर अपेक्षाअनुसार प्रभावकारी हुन सकेन ।”
चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरूको विशेष आग्रहपछि बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गरेको थियो ।
यसअघि मुग्लिन–नारायणगढ तथा आँबुखैरेनी–पोखरा सडक विस्तारका कारण सडक यात्रा असहज हुँदा हवाई सेवाप्रति आकर्षण बढेको थियो । तर अहिले सडक स्तरोन्नति भएसँगै यात्रुहरू सडकमार्ग रोज्न थालेका छन् । हाल भरतपुरबाट पोखरा निजी सवारीमा करिब साढे दुई घण्टा र सार्वजनिक सवारीमा करिब तीन घण्टामा पुग्न सकिन्छ ।

