काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा आयोजित ‘सगरमाथा समिटर्स समिट–२०२६’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र नभई विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे।
उनले भने, “सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र होइन, यो राष्ट्रको गौरव र विश्वकै साझा प्राकृतिक सम्पदा हो। यसको संरक्षण, संवर्द्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगेको छ।”
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्धि तथा पर्वतीय क्षेत्रमा बढ्दो फोहोर अहिलेका गम्भीर चुनौती भएको बताए। उनले सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता जोगाउँदै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप सहकार्य आवश्यक रहेको धारणा राखे।
उनले हिमाल संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य, संवाद र सचेतना अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै आरोहीहरूको अनुभव र ज्ञानले सगरमाथालाई प्राकृतिक स्वरूपमै जीवन्त राख्न योगदान पुग्ने अपेक्षा पनि व्यक्त गरे।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले ‘सगरमाथा समिटर्स समिट–२०२६’ ले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले जलवायु परिवर्तनको प्रभाव सगरमाथासहित नेपालका हिमाली क्षेत्रमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

