काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई आर्थिक विकास, लगानी विस्तार र राष्ट्रिय हित प्रवर्द्धनसँग प्रभावकारी रूपमा जोड्न सरकार केन्द्रित रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिका–९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालले विश्वका विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँग कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्ध विस्तार गर्दै आएको बताए।
मन्त्री खनालका अनुसार नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ। नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य–मान्यताका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको उनले उल्लेख गरे।
उनले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित संरक्षण, आर्थिक समृद्धि, शान्ति र बहुपक्षीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित रहेको बताए।
परराष्ट्र मन्त्रालयको सेवा प्रवाह सुधारका लागि आफू सक्रिय रहेको उल्लेख गर्दै मन्त्री खनालले राहदानी वितरण प्रक्रिया अहिले धेरै सहज भएको जानकारी दिए। पहिले हप्तौँ लाग्ने राहदानी सेवा अहिले आवेदन दिएको दुई–तीन दिनमै, कतिपय अवस्थामा भोलिपल्टै उपलब्ध गराउन सकिने अवस्था पुगेको उनले बताए।
विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको जानकारी दिँदै उनले समस्यामा परेका नेपालीले अब एपमार्फत सिधैँ गुनासो दर्ता गर्न सक्ने र त्यसको अनुगमन मन्त्रीस्तरबाटै हुने व्यवस्था गरिएको बताए।
उनले सरकारको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको उल्लेख गर्दै २०६३ पछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन तथा पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। अनावश्यक खर्च नियन्त्रणका लागि मन्त्रालयको संख्या घटाइएको पनि उनले बताए।
मन्त्री खनालले गोँगबु क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शिवपुरी जलाधार क्षेत्रको पानी व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए।
उनका अनुसार चक्रपथ विस्तारसम्बन्धी सम्झौता चीनसँग भइसकेकाले अब निर्माण कार्यले गति लिनेछ। साथै गोँगबु क्षेत्रको अव्यवस्थित पार्किङ हटाउन ट्राफिक प्रहरीसँग समन्वय गरी काम अघि बढाइने उनले बताए।
कार्यक्रममा टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले सङ्घीय सरकारसँग सहकार्य गर्दै गोँगबु–टोखा क्षेत्रका समस्या समाधानमा आफू लागिरहेको बताए।

