काठमाडौँ । सरकारले निजी क्षेत्रलाई पनि सीमापार विद्युत् व्यापारमा सहभागी हुने बाटो खुला गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारको पूर्वतयारीका लागि पहिलो चरणमा ५ कम्पनीलाई आशय पत्र (एलओआई) प्रदान गरेको हो।
विद्युत् व्यापारको अनुमति माग्दै १६ कम्पनीले आवेदन दिएका थिए। बाँकी कम्पनीलाई पनि क्रमशः आशय पत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ।
गत असोज ३० गते ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने प्रक्रिया अघि बढाइएको थियो। यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्र अब अन्तर्राष्ट्रिय विद्युत् व्यापारमा समेत सहभागी हुने बाटो खुलेको छ।

