काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभई यथार्थपरक र कार्यान्वयनयोग्य रहेको बताएका छन्।
आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटको आकार सानो नभए पनि निर्धारित सीमाभित्र रहेको उल्लेख गर्दै यसपटक कार्यान्वयनको विषयमा विगतजस्तो अन्योल नरहेको बताए।
उनले भने, “विगतका वर्षमा बजेट आएपछि राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुने गर्थ्यो। तर यसपटक त्यस्तो अवस्था छैन। बजेट महत्वाकांक्षी छैन, चाहिएको सीमाभित्रै आएको छ।”
अर्थमन्त्री वाग्लेका अनुसार आगामी आवको बजेट अनुमानित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २८.५ प्रतिशत बराबर रहेको छ।
बजेट निर्माण प्रक्रियामा सन् २०१४ देखि संलग्न रहँदै आएको स्मरण गर्दै उनले सन् २०१५ को विनाशकारी भूकम्पपछि बजेटको आकार उल्लेखनीय रूपमा बढ्न थालेको बताए। उनका अनुसार भूकम्पअघि नेपालको बजेटको आकार जीडीपीको औसत २५ देखि २९ प्रतिशतसम्म रहने र वास्तविक खर्च २२ देखि २५ प्रतिशतको हाराहारीमा हुने गरेको थियो।
“भूकम्पपछिका वर्षहरूमा बजेटको आकार बढ्दै गयो र केही वर्षमा जीडीपीको तुलनामा बजेटको आकार ३७ प्रतिशतसम्म पुगेको थियो,” उनले बताए।

