विद्युतमा भ्याटबारे सरकार पछि हट्दैन, उपभोक्तालाई भार नपर्ने विकल्प ल्याइने : स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् उपभोगमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी निर्णयबाट सरकार पछि नहट्ने स्पष्ट गरेका छन्। उनले अन्तिम उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी विभिन्न विकल्पबारे छलफल भइरहेको र आगामी साउनदेखि त्यसको कार्यान्वयन गरिने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले विद्युतमा भ्याट कायम रहने तर त्यसको प्रभाव उपभोक्तामाथि न्यून पर्ने व्यवस्था गरिने बताए।

आगामी आर्थिक वर्षको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई करको दायरामा ल्याउने व्यवस्था भएपछि यसको व्यापक आलोचना भइरहेको छ। यसबारे प्रतिक्रिया दिँदै उनले विद्युतमा भ्याट लगाउने निर्णय सरकारले साहसिक रूपमा गरेको उल्लेख गरे।

उनले विगतमा पनि यस विषयमा चर्चा भए पनि कार्यान्वयनको आँट कसैले नगरेको भन्दै उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिइएको बताए। सबै सेवा निःशुल्क बनाउने सोचले अर्थतन्त्रमा समस्या निम्त्याउन सक्ने उल्लेख गर्दै उनले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रणालीतर्फ सरकार अघि बढेको स्पष्ट पारे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको