काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १३४ जना घाइते भएका छन्।
राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका अनुसार एक दर्जनभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्।
भूकम्पपछि सारङ्गानी प्रान्तको ग्लान नगरपालिकामा पहिरो जाँदा १४ जनाको ज्यान गएको छ।
जनरल सान्तोस सहर आसपासका क्षेत्रमा भवनहरू भत्किएका छन् भने विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ।
भूकम्प गएको करिब दुई घण्टापछि ६.५ म्याग्निच्युडको पराकम्प पनि गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ।
सुनामीको चेतावनी जारी भएपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। अधिकारीहरूले क्षतिको विवरण सङ्कलन तथा उद्धार कार्य जारी राखेका छन्।

