काठमाडौँ । धितोपत्र बजारमा बुधबार सामान्य सुधार देखिएको छ। दिनभरको उतारचढावपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २,७३६.१७ विन्दुमा पुगेको हो।
बजार खुलेदेखि नै तीव्र उतारचढाव देखिएको थियो। प्रारम्भिक समयमा उल्लेख्य वृद्धि भए पनि मध्याह्नपछि बजारमा केही दबाब परेको थियो। तथापि, अन्तिम कारोबार समयमा बजार हरियो संकेतसहित बन्द हुन सफल भएको छ।
आज ३५६ वटा कम्पनीका सेयर कारोबार भएका छन्। ४९ हजार २४८ वटा कारोबारमार्फत ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख ६३ हजार ३२७ रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
१३ उपसमूहमध्ये ७ उपसमूहमा वृद्धि भएको छ भने ६ उपसमूहमा गिरावट देखिएको छ। आज होटल तथा पर्यटन उपसूचक ०.५४ प्रतिशत र जलविद्युत् उपसूचक ०.६५ प्रतिशतले बढ्दै बजारलाई सकारात्मक समर्थन दिएका छन्।

