लाङटाङको क्यान्जिन गुम्बामा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली, स्थानीय र पर्यटन व्यवसाय उत्साहित

काठमाडौं । रसुवाको प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिन गुम्बा तथा आसपासका बस्तीमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमार्फत नियमित विद्युत् सेवा सञ्चालनमा आएको छ।

प्राधिकरणको रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्ने क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जडान भएसँगै स्थानीयवासीले नियमित विद्युत् सुविधा पाउन थालेका छन्।

गोसाइँकुण्ड, लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि प्राधिकरणले करिब ९ करोड रुपैयाँ लगानी गरेको जनाएको छ। केन्द्रीय प्रसारण लाइन पुगेपछि लाङटाङ क्षेत्रका करिब २०० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

विद्युत् सेवा विस्तारसँगै स्थानीय होटल व्यवसायी, पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू तथा सर्वसाधारणमा उत्साह छाएको छ। क्यान्जिन भ्यालीमा सञ्चालनमा रहेका चिज उद्योग, बेकरी उद्योग तथा अन्य साना घरेलु उद्योगले पनि अब सहज रूपमा व्यवसाय सञ्चालन गर्न सक्ने भएका छन्।

समुद्री सतहबाट करिब ३,८७० मिटर उचाइमा अवस्थित क्यान्जिन गुम्बा लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको चर्चित हिमाली बस्ती हो। यो क्षेत्र लाङटाङ पदयात्राको प्रमुख गन्तव्य मानिन्छ, जहाँबाट हिमाल, हिमनदी र मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।

प्राधिकरणले दुर्गम तथा पर्यटकीय क्षेत्रमा विद्युत् पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको छ। गत वर्ष मात्रै गोसाइँकुण्डमा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्‍याइएको थियो।

यसअघि क्यान्जिन क्षेत्रमा कादुरी फाउण्डेसनद्वारा निर्माण गरिएको १०० किलोवाट क्षमताको च्योहा खोला लघु जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो। तर आयोजनामा प्राविधिक समस्या आएपछि मर्मतमा समय लाग्ने देखिएपछि वडा कार्यालयको समन्वयमा प्राधिकरणको प्रसारण लाइन जडान गरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले जानकारी दिए।

उनका अनुसार लघु जलविद्युत् आयोजनाको मर्मतपछि त्यसलाई प्राधिकरणको प्रसारण प्रणालीसँग ‘सिङ्क्रोनाइज’ गरी पुनः सञ्चालनमा ल्याउने योजना रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको