काठमाडौं । युक्रेनले बिहीबार बिहान रुसको राजधानी मस्कोस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा पुनः ड्रोन आक्रमण गरेको छ। पछिल्लो एक साताभित्र उक्त केन्द्रमाथि भएको यो दोस्रो आक्रमण हो।
मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार राजधानीको दक्षिणपूर्वी कपोत्न्या जिल्लामा रहेको मस्को तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै धेरै ड्रोन प्रहार गरिएको थियो। उनले मस्कोतर्फ आउँदै गरेका चार दर्जनभन्दा बढी ड्रोनलाई रुसको वायु प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेका छन्।
टेलिग्राममार्फत जारी सन्देशमा सोब्यानिनले वायु प्रतिरक्षा बलहरूले व्यापक ड्रोन आक्रमणको प्रतिरोध गरिरहेको बताएका छन्। घटनास्थलबाट सार्वजनिक भएका भिडियोहरूमा प्रशोधन केन्द्रको एक भागबाट धुवाँ निस्किएको देखिएको छ।
यस्तै, मस्को बाहिरको झुकोभ्स्की क्षेत्रमा एक ड्रोन आवासीय भवनमा ठोक्किएको बताइएको छ। मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार उक्त घटनाबाट भवन र केही बाल्कोनीमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भएको छैन।
रुस–युक्रेन युद्ध जारी रहँदा दुवै पक्षले एकअर्काका रणनीतिक पूर्वाधार तथा ऊर्जा संरचनालाई लक्षित गर्दै ड्रोन आक्रमण तीव्र बनाएका छन्।

