काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले भावनात्मक अभिव्यक्तिले मात्र कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट एकताबारे भइरहेका चर्चाले मात्रै परिणाम नदिने बताए।
‘कम्युनिस्ट पार्टी आजै मिल्ने, भोलि मिल्ने भन्ने चर्चा धेरै सुनिन्छ। यसबारे जवाफ दिँदा मेरो पनि दिमाग खराब भइरहेको छ। मैले त्यस्तो अवस्था देखिरहेको छैन,’ उनले भने, ‘जसले सम्भावना देख्नुभएको छ, उहाँहरूले नै अगाडि बढेर इतिहास बनाउनुपर्छ।’
माधव नेपालले यथार्थको धरातलमा उभिएर व्यापक छलफल र बहसपछि साझा सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा राखे।
उनले ‘मै हुँ’ भन्ने प्रवृत्ति, भ्रष्टाचार, जनताबाट टाढिने सोच र बदलिँदो जनमनोविज्ञान बुझ्न नसक्नु कम्युनिस्ट आन्दोलनका कमजोरी भएको उल्लेख गर्दै सबै कम्युनिस्ट शक्तिले आत्मसमीक्षा र आत्ममन्थन गर्नुपर्नेमा जोड दिए।

