काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै खेतमा रोपिएको प्रत्येक धानको बिरुवासँग किसानका सपना, परिवारको भान्सा, भविष्य र राष्ट्रको समुन्नति जोडिएको बताएका छन्।
शुभकामना सन्देशमा उनले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति कृतज्ञता व्यक्त गरेका छन्।
थापाले असार १५ केवल धान रोपाइँको दिन मात्र नभई नेपाली किसानको श्रम, संघर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरेका छन्। उनले धान देशको मुख्य खाद्यान्न बाली भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु कृषि क्षेत्रको मात्र नभई नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्ने र संविधानले प्रत्याभूत गरेको खाद्यसम्बन्धी हकको कार्यान्वयन गर्ने विषय पनि भएको बताएका छन्।

