काठमाडौं । महिला सहकर्मीमाथि भएको एसिड आक्रमणको विरोधमा डाक्टरहरूले थालेको आन्दोलनका कारण पाकिस्तानको बलुचिस्तान प्रान्तका सरकारी अस्पतालहरूमा ओपिडी सेवा लगातार बन्द हुँदा हजारौं बिरामी प्रभावित भएका छन्।
लामो समयदेखि ओपिडी सेवा ठप्प हुँदा नियमित स्वास्थ्य परीक्षण, परामर्श र फलोअपका लागि आएका धेरै बिरामी उपचारविहीन भएर फर्किन बाध्य भएका छन्। यसबाट विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) क्वेटा जोन र यङ डाक्टर्स एसोसिएसन (वाईडीए) को संयुक्त नेतृत्वमा भइरहेको आन्दोलन २१औँ दिनमा पुगेको छ। आपतकालीन सेवा, शल्यक्रिया कक्ष र डायलिसिस सेवा भने सञ्चालनमै रहेका छन्।
पीएमएले विज्ञप्ति जारी गर्दै एसिड आक्रमणको घटनामा सरकारले प्रभावकारी अनुसन्धान गर्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। घटना भएको करिब तीन सातासम्म पनि दोषीको पहिचान गर्न र चिकित्सक समुदायका माग सम्बोधन गर्न सरकार असफल भएको एसोसिएसनको आरोप छ।
एसोसिएसनले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी न्यायिक छानबिनको माग दोहोर्याउँदै अनुसन्धान सम्पन्न नभएसम्म प्रान्तीय स्वास्थ्य सचिव र सिभिल अस्पताल क्वेट्टाका मेडिकल सुपरिटेन्डेन्टलाई पदबाट हटाउन आग्रह गरेको छ। उनीहरूको उपस्थितिले अनुसन्धान प्रभावित हुन सक्ने दाबी पनि गरिएको छ।
त्यस्तै, ३० भन्दा बढी वरिष्ठ चिकित्सक तथा स्वास्थ्य अधिकारीविरुद्ध सुरु गरिएको कारबाहीको पनि पीएमएले विरोध गरेको छ। यस्तो कदम चिकित्सा पेशाप्रति अन्यायपूर्ण र अपमानजनक भएको एसोसिएसनको भनाइ छ।
आन्दोलन जारी रहेका बेला आगामी रणनीति तय गर्न सिभिल अस्पताल क्वेट्टामा साधारणसभा बोलाइएको छ। साथै पीएमएले बलुचिस्तानका मुख्यमन्त्री, मुख्य सचिव, स्वास्थ्य मन्त्री र बलुचिस्तान उच्च न्यायालयका मुख्य न्यायाधीशलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको डनले जनाएको छ।

