सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य विस्तारमा जोड

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले बुधबार सभामुखको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए।

सभामुखको निजी सचिवालयका अनुसार उक्त समूहमार्फत दुवै देशका संसद्बीच पारस्परिक हितका विषयमा सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

सभामुख अर्यालले नेपाल–साउदी सम्बन्धमा श्रम आप्रवासनको क्षेत्रमा बढ्दो सहकार्यको प्रशंसा गर्दै नेपाली कामदारलाई प्राथमिकता दिएकोमा साउदी अरबप्रति आभार पनि व्यक्त गरे।

राजदूत मनिखले नेपाल र साउदी अरबबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारमा जोड दिए।

आगामी वर्ष नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार हाल साउदी अरबमा ३ लाख ८४ हजार ८६५ नेपाली कार्यरत छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको