काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रतिगामी वा फासीवादी बाटोमा जान नसक्ने बताएका छन्। उनले फासीवादी प्रवृत्तिविरुद्ध मिल्न सकिने सबै शक्तिसँग कार्यगत एकता गर्नुपर्नेमा जोड दिएका छन्।
एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको सम्पर्क विशेष संगठन कमिटीसँगको सुझाव संकलन कार्यक्रममा बोल्दै ओलीले आफू नेतृत्वको सरकारले देशको विकास र जनताको हितमा ऐतिहासिक तथा असाधारण काम गरेको दाबी गरे।
उनले एमाले कुनै गलत कामका कारण जनतामाझ अलोकप्रिय नभएको, भ्रम र दुष्प्रचारका कारण केही जनता अलमलिएको जिकिर गरे।
पार्टी एकीकरणको चर्चाप्रति टिप्पणी गर्दै ओलीले अहिले एमालेलाई कुनै पार्टीसँग एकीकरण गर्न आवश्यक नरहेको बताए। उनका अनुसार एमाले देशव्यापी रूपमा फैलिएको, सुदृढ संगठन, सही विचार र महान् उद्देश्यका साथ अघि बढिरहेको पार्टी भएकाले यसको थप सुदृढीकरण र विस्तारमा ध्यान दिनुपर्नेछ।
‘यतिवेला पार्टी एकीकरणको कुरा कहाँबाट आयो? नेकपा एमालेलाई थप सुदृढ र विस्तार गर्नुपर्छ, एकीकरण गर्नु आवश्यक छैन,’ उनले भने।
एमाले केही चुनौतीबाट गुज्रिए पनि कमजोर नभएको उल्लेख गर्दै ओलीले कार्यकर्तालाई भविष्यप्रति आशावादी हुन आग्रह गरे।
‘हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ। हामी उठ्न सक्छौँ। हामीले केही बिगारेका छैनौँ, त्याग र तपस्या गरेका छौँ, लोभपाप गरेका छैनौँ। हीनताबोध गर्नुपर्ने छैन, भविष्य हाम्रै हो,’ उनले भने।

