काठमाडौं । विश्व बैंक समूहले नेपालमा आफ्नो कार्य, संलग्नता र प्रभावकारिताबारे सरोकारवालाहरूको धारणा बुझ्न ‘कन्ट्री ओपिनियन सर्भे २०२६’ सुरु गरेको छ।
बैंकले आफ्नो कार्यशैलीमा सुधार ल्याउने तथा नेपालको विकास प्रक्रियामा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त सर्वेक्षण सञ्चालन गरेको जनाएको छ।
सर्वेक्षणमार्फत विश्व बैंकले नेपालका नेतृत्वदायी, प्रभावशाली व्यक्तित्व तथा निर्णयकर्ताहरूको धारणा संकलन गर्नेछ। यसमा नेपाल सरकारका प्रतिनिधि, विकास साझेदार, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, सञ्चारमाध्यम र नागरिक समाजका संस्थाका प्रतिनिधिहरूलाई सहभागी गराइनेछ।
सर्वेक्षण प्रक्रिया निष्पक्ष र व्यवस्थित बनाउन विश्व बैंकले नेपालको स्वतन्त्र अनुसन्धान संस्था ‘फ्याक्ट्स नेपाल’लाई जिम्मेवारी दिएको छ। आगामी केही हप्ताभित्र ‘फ्याक्ट्स नेपाल’का प्रतिनिधिहरूले सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरी प्रश्नावली उपलब्ध गराउने र भरिएका सर्वेक्षण फाराम संकलन गर्नेछन्।

