काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा देश सञ्चालनमा गम्भीर रूपमा केन्द्रित हुन आग्रह गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा लोकप्रिय बन्न सजिलो भए पनि प्रधानमन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गर्न गाह्रो हुने बताए।
“सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, अब भाइरल हुने बाटो त्याग्नुपर्छ। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभएको छ। सही ढंगले एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, दुर्घटनामा पर्दा तपाईं मात्र होइन, सिंगो देश दुर्घटनामा पर्न सक्छ,” उनले भने।
आङ्देम्बेले प्रधानमन्त्री शाहलाई संसदप्रति उत्तरदायी हुन पनि आग्रह गरे। संसद सार्वभौम जनताको प्रतिनिधि संस्था भएको उल्लेख गर्दै उनले सरकार संसदको विश्वासमा टिकेको भएकाले प्रधानमन्त्रीले संसदको सम्मान र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले पछिल्ला १०० दिनको कार्यशैलीप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीलाई सत्ता प्राप्त गराउने संसदलाई अवमूल्यन नगर्न चेतावनी दिए। “धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। तपाईं सत्ताको धुरी चढ्ने अनि तपाईंलाई त्यहाँ पुर्याउने संसद बिर्सने, संसदलाई अवमूल्ययन गर्ने ?” भन्दै उनले प्रश्न गरेका थिए।

