रुसी सेनामा १३१ नेपालीको मृत्यु, ९५ बेपत्ता र ९ युक्रेनमा बन्दी : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रुसी सेनामा भर्ना भएका १३१ जना नेपालीको मृत्यु भएको जानकारी दिएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त तथ्य सार्वजनिक गरेका हुन्।

मन्त्री खनालका अनुसार हालसम्म रुसी सेनामा रहेका ९५ जना नेपाली बेपत्ता छन् भने ९ जना युक्रेनमा बन्दी अवस्थामा रहेका छन्। उनले नेपाल सरकारले परम्परागत रूपमा सैन्य सम्झौता भएका मुलुकबाहेक अन्य कुनै विदेशी सेनामा नेपालीलाई भर्ना हुन अनुमति नदिने स्पष्ट नीति अवलम्बन गरेको बताए।

उनले मृतक नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न नेपाल सरकारले रुसी सरकारसँग औपचारिक रूपमा आग्रह गरिसकेको जानकारी दिए।

जवाफका क्रममा मन्त्री खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित कूटनीति सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

उनका अनुसार सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने नीति लिएको छ। सूचना प्रविधि, शिक्षा र स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्न तथा ऊर्जा र पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। साथै, ‘ब्राण्ड नेपाल’ अभियानमार्फत नेपाली मौलिक पहिचान, संस्कृति र उत्पादनको अन्तर्राष्ट्रिय प्रवर्द्धन गरिने उनले बताए।

त्यसैगरी, नेपालको ‘सौम्य शक्ति’ (Soft Power) विस्तारका लागि लुम्बिनी फेलोसिप, अन्तर्राष्ट्रिय संवाद शृङ्खला तथा सगरमाथा संवादजस्ता कार्यक्रम सञ्चालन गरिने मन्त्रालयको योजना रहेको मन्त्री खनालले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको