काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा सभामुख अर्यालले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता तथा सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत र कनेक्टिभिटीलगायत क्षेत्रमा द्विपक्षीय सहकार्य निरन्तर सुदृढ हुँदै गएको बताए। उनले हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार पनि व्यक्त गरे।
सभामुख अर्यालले उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्दै उडान, रेल र बस सेवाको विस्तारले आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। साथै, भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको जानकारी दिँदै उपयुक्त समयमा स्वागत गर्न नेपाल तयार रहेको बताए।
भेटमा भारतीय राजदूत श्रीवास्तवले लोकसभा सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपाली सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिएका थिए।
उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

