प्राथमिकता निर्धारण नगरी संविधान संशोधन गर्न खोज्दा देश संकटमा पर्न सक्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका क्रममा सबै विषयलाई एकैपटक समेट्नुभन्दा प्राथमिकता निर्धारण गरेर चरणबद्ध रूपमा अघि बढ्नुपर्ने बताएका छन्।

‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले हतारमा व्यापक संशोधन गर्न खोज्दा मुलुक पुनः अस्थिरता र जटिलतामा फस्न सक्ने चेतावनी दिए। उनले भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरको ‘ग्रामर अफ एनार्की’ अवधारणाको स्मरण गर्दै स्पष्ट प्राथमिकताबिनाको संशोधन प्रक्रियाले अराजकता निम्त्याउन सक्ने बताए।

सभापति थापाले संविधान निर्माणका क्रममा राष्ट्रियता र जनअधिकारबाहेकका विषयमा संशोधनको व्यवस्था गरिएको भए पनि त्यसलाई जथाभावी संशोधनको खुला अनुमति ठान्न नहुने उल्लेख गरे। संविधान निर्माणको ऐतिहासिक सन्दर्भ र उद्देश्यलाई बुझेर मात्रै संशोधन अघि बढाउनुपर्ने उनको भनाइ थियो।

उनले संविधान संशोधनका लागि सरकारले अपनाएको प्रक्रिया उपयुक्त नभएको टिप्पणी गर्दै सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति गठन गर्ने वा संसद्भित्रै विशेष समिति बनाएर अघि बढ्न सकिने सुझाव दिए।

थापाका अनुसार पहिलो चरणमा संवैधानिक आयोगहरूको पुनरावलोकन र दोस्रो चरणमा सुशासन तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको