काठमाडौँ । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानास्थित सुँगरे क्षेत्रमा शनिबार भीषण बोलेरो जिप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार केदारस्युँ गाउँपालिका–७ बाट दुर्गाथली गाउँपालिका–६ चुवाबनतर्फ जाँदै गरेको से १ च २४४४ नम्बरको बोलेरो जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो। जिप चालक देवबहादुर धामी रहेका थिए।
दुर्घटनामा मृत्यु हुनेमा केला देवी धामी, चक्र महत र बिमला देवी धामी रहेका छन्। घाइतेहरूको स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि पठाउने तयारी भइरहेको छ।
जिपमा १६ जना सवार रहेको अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

