काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन्।
उनले काठमाडौं महानगर प्रहरीलाई असाधारण अधिकारसहित सञ्चालन गर्ने अभ्यास वर्तमान प्रधानमन्त्री तथा तत्कालीन काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको कार्यकालदेखि सुरु भएको दाबी गर्दै, प्रचलित कानुनअनुसार नगर प्रहरीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने व्यवस्थामा आफू अडिग रहेको बताएका छन्।
पोखरेलले प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार संघीय सरकारको क्षेत्राधिकारभित्र रहेकाले त्यस कानुनी व्यवस्थालाई बेवास्ता गर्दै गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्ति जिम्मेवार नभएको टिप्पणी गरेका छन्।
आर्थिक संकटका कारण उत्पन्न मानवीय पीडाको समाधानका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सस्तो लोकप्रियताका लागि घृणाको राजनीति गर्नेहरू अहिले सरकारमा पुगेपछि अरूमाथि दोषारोपण गर्न व्यस्त रहेको आरोप लगाए।
उनले महानगर प्रहरीमाथि लगाइएको आरोपप्रति पनि प्रश्न उठाउँदै जरिवाना लगाउने र असुल गर्ने जिम्मेवारी महानगर प्रहरीको नभई गृहमन्त्रालयअन्तर्गतको ट्राफिक प्रहरीको भएको दाबी गरेका छन्। साथै, मधेश प्रदेशमा भएको यस्तै अर्को घटनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठाउँदै विधिको शासन, जवाफदेहिता र मानवीयताका आधारमा समाज अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

