काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतना देशव्यापी रूपमा विस्तार गर्न संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गरिने भएको छ।
मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा बसेको बैठकले विद्यमान स्वास्थ्य संरचनामार्फत समुदाय तहसम्म मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचाररत बिरामीलाई सहजीकरण तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई परामर्श सेवा उपलब्ध गराउने योजना पनि तय गरिएको छ।
यसका साथै मानसिक स्वास्थ्य हटलाइन ११६६, हेलो स्वास्थ्य १११५ र नजिकका स्वास्थ्य संस्थाको सम्पर्कबारे व्यापक प्रचारप्रसार गरिने तथा मोबाइल रिङब्याक टोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल र अनलाइन काउन्सेलिङमार्फत जनचेतना अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

