काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई सुदृढ बनाएको बताएका छन्।
सोमबार जारी शुभकामना सन्देशमा उनले तनहुँको चुँदीरम्घास्थित भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण र प्रवर्द्धन गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
उपराष्ट्रपति यादवले भानुभक्त आचार्यले नेपाली साहित्यलाई नयाँ आयाम दिँदै भाषा, संस्कृति र नैतिक मूल्यप्रति जनमानसमा गहिरो चेतना जगाएको उल्लेख गरेका छन्। उनका अनुसार भानुभक्तको काव्य–साधना र सामाजिक दृष्टिकोणले नेपाली साहित्य मात्र होइन, राष्ट्रिय जीवनलाई समेत उज्यालो बनाएको छ।
उनले ‘रामायण’, ‘घाँसी’ र ‘प्रश्नोत्तर मालिका’ जस्ता कृतिहरूले श्रम, निष्ठा र उत्तरदायित्वको महत्व उजागर गरेको उल्लेख गर्दै, भानुभक्तका रचनाले नेपाली सांस्कृतिक गौरवलाई जीवन्त राख्नुका साथै भावी पुस्तालाई आफ्नै भाषा, साहित्य र संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

